गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

प्रेम र जीवनको अन्तरसम्बन्ध

प्रेम भन्ने शब्द जति पवित्र छ, त्यति नै भयानक पनि। प्रेमले सुन्दर संसार र रमणीय दिनहरूको निर्माण गर्छ भने कस्ता-कस्ता भयानक घटनाको पनि सिर्जना गर्छ। प्रेम आगो हो, पानी पनि हो। प्रेम कलकल बग्ने खोला हो, प्रेम आँधी-हूरी पनि हो। प्रेमका अनेक उदाहरण हरेक क्षेत्रमा हरेक तरिकाले, हरेक प्रकारका भेटिन्छन्।

प्रेमलाई समाजले कुन रूपमा लिनुपर्ने हो - प्रेमको सीमा कतिसम्म छ - एउटा छोराले आफ्नी आमाबाट पाएको मातृप्रेम र त्यो छोराले कसैकी तरुनी छोरीबाट पाएको प्रेममा के फरक छ - प्रेमको नाममा दोबाटो कुरेर आफ्नो अमूल्य समय बर्बाद गरिरहेका युवायुवतीले प्रेमलाई कुन रूपमा लिइरहेका छन् - नेपाली सामाजिक मूल्य र मान्यताले यस्ता प्रेमलाई कसरी हेर्छन् - पद्मकन्या बहुमुखी क्याम्पसकी छात्रा मञ्जु शर्मा भन्छिन्-


'प्रेम भन्नेबित्तिकै हाम्रो दिमागमा आइहाल्छ- दुई मुटुको मिलन नै प्रेम हो तर प्रेमको व्यापक रूपलाई हेर्ने हो भने परिवारले परिवारलाई गर्ने प्रेम अनि एउटा नागरिकले देशलाई गर्ने प्रेममा एकरूपता पाइन्छ।'

आज-भोलिका युवायुवतीहरूको प्रेमलाई फेसनका रूपमा लिइरहेका छन्। कुनै एउटै राम्री केटी वा केटालाई भुलाउन सक्नु आफू क्षमतावान् भएको सम्झन्छन्। अहिलेका युवायुवतीहरूले प्रेमलाई जवानी अनि पैसासँग दाँजेका छन्। चाँगुनारायण स्कुलका शिक्षक नीलबहादुर श्रेष्ठको अनुभव छ- 'प्रेम आजको परिवेशमा एउटा बाध्यता र अपरिहार्य आवश्यकता भएको छ। प्रेमको अर्थ नै थाहा नहुनेहरू पनि रोमियो टाइटल राख्छन्।' शिक्षिका सीता खनाल प्रेम दुई आत्माको मिलन हो भन्दै प्रेम व्यक्तिले चाहेर गर्ने र नचाहेर नगर्ने होइन, यो हृदयदेखि नै स्वतःस्फूर्त उत्पन्न हुने एउटा भाव हो भन्ने धारणा व्यक्त गर्छिन्। 'प्यार किया नही जाता, हो जाता है' प्रेम भन्ने कुरालाई दुई अर्थबाट बुझ्न सकिन्छ। एउटा आफन्तलाई गर्ने प्रेम र अर्को विपरीत लिङ्गीबीच हुने प्रेम। प्रेमको निश्चित परिभाषा दिन गाह्रो पर्छ। यो संसार नै प्रेममा अडेको छ भन्दै खनाल थप्छिन्- 'सबैभन्दा ठूलो कुरा मन हो, मन हुने मानिसलाई मात्र प्रेम केहो भन्ने कुराको महसुस हुन्छ। प्रेमको परिभाषा दिन गाह्रँे छ।'

माया भन्नाले हामी आफ्नो परिवारलाई गरिने मावनताको भावना हो भन्ने बुझ्छौं तर माया पनि दुई मुटुको मिलन नै हो। जस्तै- कुनै व्यक्तिलाई शारीरिक चोट लागेको देख्दा आत्मादेखि नै सहानुभूति, सद्भाव उत्पन्न हुन्छ, त्यो माया हो, समाजको विचारमा भने माया गर्नु भनेको आफ्नो जीवनमा कुनै केटा वा केटीलाई निम्त्याउनु भनिन्छ। आजभोलिका युवायुवती एकले अर्कालाई गर्ने सामान्य आकर्षालाई प्रेम मान्छन्। पछि केटा र केटीले अर्कैसँग विवाह गर्दा धोका पाएको भन्छन् तर वास्तविक प्रेम अविस्मरणीय क्षणबाट सुरु भएर दीर्घकालसम्म कायम रहन्छ।

प्रेमका बारेमा सबैलाई थाहा नहुन सक्छ प्रेम भनेको के हो - जिज्ञासा उठ्नु स्वाभाविक नै हो। साधारणतया हामीले भन्ने गर्र्छौं प्रेम भनेको कसैले कसैलाई गरेको माया नै प्रेम हो। तर अझै गहिरिएर भन्नुपर्दा प्रेम वा माया भनेको त्यस्तो चिज हो, जुन एउटा अति महत्वपूर्ण तथा अमूल्य उपहारको रूपमा सृष्टिकर्ताले हरेक प्राणीलाई दिएको प्रकृतिप्रदत्त वस्तु हो। प्रेम मानव जीवनको शक्ति हो, प्रेम नै उसको प्रेरणा तथा प्रेम नै उसको भविष्य तथा जीवनको आशाको केन्द्र हो। प्रेम नै मानवताको सर्वोत्तम गुण हो, प्रेम नै स्वर्गीय आनन्द हो र यही नै परमात्माको सबैभन्दा महत्वपूर्ण देन पनि हो। प्रेम सर्वव्यापक पुजित हुन्छ। प्रेम हरेक प्राणीको हृदयको अन्तस्करणमा रहन्छ। मनुष्य जीवनमा यसको महत्व सबैभन्दा अधिक हुन्छ। यसलाई अभिव्यक्त गर्ने तरिका सबैमा फरक-फरक हुनु स्वाभाविक मानिन्छ। स्त्री पुरुष यसको अभावमा एक अर्कामा समर्पित हुन सक्दैनन्। प्रेम स्त्री-पुरुषको वैवाहिक जीवनको अपरिहार्य तत्व हो। तर विद्वान्हरूले माया र प्रेमका बारेमा धेरै परिभाषाहरू लेखेका छन्, तर आजसम्म कसैले प्रेमको पूर्ण परिभाषा गर्न सकेका छैनन्। हरेकले आ-आफ्ना तर्क मात्र अगाडि सारेका छन्। प्रेम एउटा धेरै कठिन अनुभूति हो, जसको अनुभव मात्र गर्न सकिन्छ, यसलाई देख्न सकिँदैन। यसको विश्लेषण होइन, अनुभवद्वारा आत्मसात् गरेर बुझ्न सकिन्छ। तर पढेर मात्र गर्न सकिँदैन। सानो, ठूलो, धनी, गरीब, उच, नीच मालिक, मजदुर, राजा, प्रजा सबैको मनमा प्रकृतिले प्रेम वा मायाको टुसा कुनै न कुनै रूपमा उत्पन्न गरेको हुन्छ। तर यी सबैले प्रेमलाई आफ्नो मनमा सजाएर राखेका मात्र हुन्छन्। कसरी कमाउने खाने बस्ने र परिवारको पालनपोषण कसरी गर्ने भन्ने समस्याहरूको सोचाइमै सबै पुरुषहरूको दिमाग अल्झिरहन्छ। तर स्त्रीहरूको काम दैनिक पुरुषको झैं, सोच विचारमा रहँदैन। उनीहरू दैनिक घरभित्रकै काममा व्यस्त रहन्छन्। तर मन भने प्रेमीको सम्झना सोचाइमा नै हराइरहेको हुन्छ।

जब स्त्री-पुरुष एक अर्काप्रति वैवाहिक जीवनमा पाइला टेक्छन्, तब पतिपत्नी दुवैलाई प्रेमको बन्धनमा बाँधिनु आवश्यक छ। जसरी दूध र पानी मिलेर एउटा नयाँ रस बन्दछ, यसरी एउटा रसको भावना कहिले उत्पन्न हुन्छ - जब दुवै जनाको मनमा एक अर्काप्रति समान प्रेम तथा समर्पणको भावना उत्पन्न होस्, जब एक-अर्काको लागि मर्न तयार हुन्, एक अर्काबिना रहन नसकुन्। पतिपत्नीको मेलमिलापमा जबसम्म प्रेम माधुर्यको समिश्रण हुँदैन, तबसम्म सफल दाम्पत्य जीवनको महत्व रहँदैन।

विवाहको अर्थ हो पूर्ण 'प्रसन्नता' यसै कारण बिनाप्रेमपूर्ण प्रसन्नता कहाँबाट आओस् - त्यसैले पनि प्रेमको लागि विवाहलाई अनिवार्य मान्नुपर्दछ। प्रेमबिनाको जीवन 'नुनबिनाको तरकारी, चिनीबिनाको हलुवा अथवा सुगन्धबिनाको फल' जस्तै हो। यस कारण पनि सुखी दाम्पत्य जीवनका लागि प्रेम अपरिहार्य छ। जन्मेदेखि लिएर मृत्युपर्यन्त मनुष्यको हृदय प्रेमबाट परिपूर्ण हुन्छ। छोरा होस् या छोरी जन्मेदेखि सुरुमा उसलाई आमाको प्रेम चाहिन्छ र मिल्छ। केही ठूलो भएपछि बाबुको, दाजुभाइ, दिदीबहिनीहरूको, काका, काकीहरू तथा अन्य मान्यजनहरूको प्रेम उसले पाउँछ।

टन्टलापुर घाम लागेको होस् वा मुसलधारे पानी नभनीकन काम गरिरहेका किसान तथा मजदुर, हिउँदको चिसो ठिहिर्‍याउने शीतकालको जाडोमा भारी बोकेर पहाड चढिरहेको भरिया, १०-५ सम्म एउटै कुर्सीमा बस्न बाध्य कर्मचारी होस् वा दैनिक हाकिमको गाली खाइरहन बाध्य भएको पिएन होस्, यस्तो कुन शक्ति छ कि जसका कारण यी परिस्थितिहरू सबै सहेर उनीहरू काम गरिरहन विवश छन्। युद्धमा गएको सैनिक तरबार घुमाउँदै र बन्दुक तेर्स्याउँदै गोली चलिरहेको ठाउँमा निसःन्देह जान्छ, त्यो कुन विचित्रको शक्ति हो, जो ऊ युद्धमा पनि मृत्युको डर हुन दिँदैन। त्यो हो कसैको प्रेम, जसले मृत्युको विभीषिकामा पनि उसलाई बार बनँइदिन्छ। जन्मदेखि लिएर मृत्युसम्म मानिसको हृदय प्रेमबाट परिपूर्ण रहन्छ। छोरा हो या छोरी जन्मिसकेपछि जब बाल्यकाललाई पार गरेर युवावस्थामा पाइला राख्दछन्, त्यसबेला युवायुवतीको मनमा एउटा भावना उत्पन्न हुन जान्छ। त्यो भावनाले उनीहरूलाई सबैसँग मन पराउन, माया गर्न वा प्रेम गर्न लालायित बनाउँछ। त्यो कसैलाई मन पराउन लगाउने तत्व र प्रेम गरूँ गरूँ बनाउने जुन अदृश्य तत्व छ, त्यो भावना नै प्रेम हो। प्रेमको अर्थ खुसीहरू पनि हुन्छ। तर प्रेमले धेरैजसो दुःखको गोरेटो उक्लन बाध्य गराइदिन्छ। किशोरकिशोरीहरू प्रेमको असफलताको आवेगमा आएर आत्महत्या, हत्या गर्न पनि पछि पर्दैनन्, विषपान, झुन्डिने आदि घटनाहरू सुन्नमा आइरहन्छन्। कोही प्रेमको असफलतापछि आफ्ना विभिन्न घटनाहरू तथा सुमधुर यादहरूलाई सम्झँदै त्यसैको सहारामा बाँच्ने प्रयास पनि गर्दछन्। जति मज्जा मिलनमा हुन्छ, त्यो भन्दा बढी मज्जा विछोडमा हुन्छ भन्ने तर्क विद्वान्हरूको रहेको छ। मिलन त केवल क्षणिक हो। विछोड नै चिरस्थायी हुन्छ। विछोडको घाउको दर्द अविस्मरणीय हुन्छ। प्रेमको बन्धन शारीरिक सुखका लागि अनिवार्य हुन्छ। तर प्रेम स्वतन्त्र छ। यो स्वतन्त्र प्रेमका लागि एक अर्काबीचमा समान अभिरुचि र आकर्षा हुनु अत्यन्तै जरुरी छ।

कृष्ण प्रसाद पोखरेल
हाल - दोहा कतार
इमेल.-kpokharel75@yahoo.com
kp_pokharel@live.com

No response to “प्रेम र जीवनको अन्तरसम्बन्ध”