प्रेम होस् त यस्तो
यो सालको प्रेम दिवसमा एउटा यस्तो प्रेमी कुकुरलाई सम्झौ जसले मायालुलाई भेट्न २०० किलोमिटरको बिन्दास यात्रा गर्यो।
नील दीक्षितरामेछापमा जन्मेको एउटा रहरलाग्दो छाउरोले राजधानी भित्रिएपछि जापानी मालिकबाट टासी नाम पायो। ललितपुरको पाटनढोका टोलमा हुर्कंदै फुर्तीसाथ सडक, गल्ली र छरछिमेक चहार्ने गरेको उसको बिहारीकृष्ण श्रेष्ठको कम्पाउण्डमा बस्ने फ्याउरीसँग दिल बस्यो। टासी र फ्याउरी संसार बिर्सेर खेल्थे, कुद्थे र कोही कोही वेला अरू कुकुरहरूलाई परपरसम्म लखेट्थे। तर, उनीहरूको यस्तो खुसहाल जीवन धेरै दिन चलेन। जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) मा काम गर्ने टासीका मालिकलाई आफू देश फर्कने भएपछि एक्लो टासी राजधानीमा टिक्दैन जस्तो लाग्यो र एक दिन उसलाई जबरजस्ती जीपमा हाली रामेछाप पुर्याएर छाड्ने व्यवस्था मिलाए। दिन बित्दै जाँदा पाटनढोकावासीले टासीलाई बिर्सिए, फ्याउरी पनि कहाँ कुन अवस्थामा छे भन्नेमा कसैको ध्यान गएन।
तर, त्यसको तीन महिनापछि बिहारीकृष्ण श्रेष्ठले जे देखे, बडो अविश्वसनीय थियो। सुकेर सिट्ठो भएको टासी एक मुठी प्राण लिएर खल्च्याङ-खल्च्याङ गर्दै उनको गेटमा आइपुग्यो। फ्याउरीले चुईंचुईं गर्दै, सुँघ्दै, छुँदै र फुर्किंदै उसलाई स्वागत गरी। यत्रो शहरमा टासी र फ्याउरीको अपूर्व मिलन देखेर श्रेष्ठले असिम आनन्दको अनुभूति गरे। “फ्याउरीकै प्रेमले टासीलाई मेरो घरसम्म फर्काएकोमा शङ्का छैन, तर विचरोले भोकै तिर्खै अनेकन भीर, पाखा, वन, नदीनाला र गाउँ-शहर कसरी छिचोल्यो होला, ताज्जुब लाग्छ!” उनी भन्छन्।पूरा बन्दोबस्तका साथ रामेछाप-काठमाडौं पैदल यात्रा गर्न पूरा एक साता लाग्छ। स्थानीय कुकुरहरूसँग भिड्दै, जोगिँदै, उकालो-रालो, कच्ची-पक्की सडक र गल्लीहरू छिचोल्दै २०० किलोमिटरको विषम यात्रा गर्ने प्रेमासक्त टासीसँग प्रकृतिप्रदत्त घ्राणशक्तिबाहेक केही थिएन। उसको नाकले आफूलाई लिएर जाने गाडीको इन्धनको गन्ध वा फ्याउरीको वासनामध्ये केलाई पहिल्याएर बाटो पत्ता लगायो, यसै भन्न सकिन्न। काठमाडौं चौपाया उपचार केन्द्रका संस्थापक जान साल्टर कुकुर र बिरालोमा बाटो पत्ता लगाउने अद्भुत खुबी हुने बताउँछन् जसलाई मानिसले छुट्याउन वा मापन गर्न सक्तैन। टासीले यति लामो दूरी पार गरेर फ्याउरीको समिप आइपुग्न त्यही विशेष खुबी प्रयोग गरेको हुनुपर्छ। तर, यस्तो खुबी भए पनि इच्छाशक्ति लरतरो भएको भए टासीको धैर्य बीचैमा टुट्न सक्थ्यो। यो यात्रामा टासीले बेहोरेको अवर्णनीय कठिनाईको प्रमाण ऊ आफैं हो। श्रेष्ठ भन्छन्, “ऊ मेरो गेटमा आइपुग्दा हाडछालाको जिउँदो अस्थिपञ्जर जस्तो थियो।”
तर, फ्याउरीको प्यार र श्रेष्ठ परिवारको हेरविचारबाट टासी चाँडै नै स्वस्थ, सुन्दर र संसारकै सुखी कुकुर बन्यो। दुर्भाग्यवश न जीवन सधैँ एउटै दिशामा चल्छ, न खुशीको आयु नै लामो हुन्छ। टासी फर्केको एक वर्ष पनि भएको थिएन, फ्याउरी बिरामी परी। सधैं झ्ैं बाहिर डुलेर फर्कंदा फ्याउरीले सम्भवतः कुनै विषालु चिज खाएर आएकी थिई। “उपचार गर्ने मौका समेत पाइएन, हेर्दाहेर्दै मरिहाली”, श्रेष्ठ सम्झ्न्छन्।
यस्तो कठोरता र वियोगको सामना गर्नुपरेको टासीले पनि संसारमा कुनै कुरा स्थायी हुँदैनन् भनेर शायद बुझयो। अहिले ऊ श्रेष्ठ परिवारसँग एउटा सुवानी, शान्त र मायालु कुकुरको रूपमा जीवनको १२औं वर्ष बिताइरहेको छ।
बुझ्न गाह्रो माया
कुकुर पाल्ने र कुकुरबारे जान्नेबुझनेहरू पनि तिनको असाधारण भक्ति, वफादारी र प्रेमिल व्यवहारबाट आश्चर्यचकित छन्। जस्तो श्रेष्ठ परिवारकै कुरा गरौं, जो अरूले भन्दा भिन्न रूपमा जीवन, प्रेम र सहचार्यको आनन्द अनुभूति गरिरहेका छन्। मानिसहरूले सहअस्तित्वमा आधारित हुनुपर्ने समाजमा पाउन नसकिने साथ कुकुरबाट पाएका छन्। जान साल्टर चुकचुकाउँछन्, “उनीहरू बोल्न पनि सक्ने भइदिएका भए!” यो वर्षको भ्यालेन्टाइन डेमा आ-आफ्ना खास मानिसका साथ प्रेम र सामीप्यको अर्थ लगाउन खोज्नेहरूले टासी र उसको प्रेमलाई सम्झौ आखिर प्रेम र सम्मान चाहिने मानिसलाई मात्र हैन!!!!!!!!!!!!!!!!!!!!!
अमृत कुमार के सी