मान्छे अनि फेरि मान्छे
कलेटी परेका काँचुलीहरू
ओछ्याएर फलैंचामा
मेरी हजुरआमा
आँसुसँगै कात्नुहुन्छ
जिन्दगीको ए-को-हो-रो
परिभाषा ।
विचलित नबनी कत्ति पनि
जब
नबुझिने अनुहारमा खुम्चिएका रेखा देखाउँदै
पढ्नुहुन्छ एक अनुच्छेद वर्तमान
अनि मलाई लाग्छ-
उस्तै रहेछ बाँच्नुका रुटिनहरू
हिजो, अस्ति र आज ।
तर
भिरालो खुट्टाहरूले समाएर गन्तव्यमा
अहँ, गर्न सकिने रहेनछ सफलताको दस्तखत
त्यसैले होला
उहाँ भन्नुहुन्थ्यो-
सपनाको महल र खरानी मानसिकता
उस्तै-उस्तै हो नानू !
मेरी हजुरआमाको आग्रह र सल्लाहमा
त्यसपछि मैले कहिल्यै देखिनँ सपना,
आजकाल गर्व लाग्छ
सपनाको राजनीति नगरीकनै
म मान्छे बन्न सकेको छु
साँच्चै
कति गाह्रो हुने रहेछ हगि
मान्छेजस्तै मान्छे बन्नलाई ।
No response to “मान्छे अनि फेरि मान्छे”
एक टिप्पणी भेजें